पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीले सरकारी निवास छोड्नु अघि पत्रकार सम्मेलन गर्दै दिपक मनाङ्गेले आफुलाई धोका दिएको बताएका छन । गुरुङले आफैँले सहयोग गरेर मनाङ्गेलाई राजनीतिमा ल्याएकोमा र पार्टीले नै मनाङमा जिताए भन्दै अहिलेको क्रियाकलापले योभन्दा ठूलो धोखा अरु कुनै नहुने बताएका हुन ।
गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले भने, सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।
रत्नाकर डाँकु पनि वेदव्यास बन्न सक्छ भने चुतिया डाँका सरदार थियो, चीनमा । ऊ लालसेनाको कमाण्डर बन्न सक्यो भने हाम्रो दीपक मनाङ्गे शुद्ध किन बन्दैन ? भनी मैले त्यसलाई सघााएको हो । मार्गप्रशस्त गरेको हुँ, नेकपा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङले भने तर कहिलेकहिले के हुन्छ भने सबै डाँकुहरु बाल्मिकी हुँदोरहेनछ ।
मनाङमा चुनाव जिताउन सहयोग गरेको, प्रदेशसभा सदस्यको शपथ दिलाउन भूमिका खेलेको स्मरण गर्दै उनले भने, मैले सहयोग नगरेको भए सांसद पद जान्थ्यो । धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।
मनाङ जिल्लाबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई पृथ्वीसुव्वाले युवा तथा खेलकुद मन्त्री बनाइदिएका थिए । गत वैशाख १६ मा मन्त्री बनेकोमा २६ वैशाखमा मुख्यमन्त्रीको राजीनामासँगै मन्त्री पद गुमेको थियो । यद्यपि वैशाख २९ मा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त पृथ्वीसुव्वाले मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीमा दोहोयाएका थिए । तर, संविधानको धारा १६८ (४) बमोजिम संसदमा ३० दिनभित्र विश्वासको मत लिने बेलामा मनाङ्गे संसदमै नआई विपक्षी गठबन्धनलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
अन्ततः काँग्रेस सहित विपक्षी गठबन्धनले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउन मनाङ्गे निर्णायक शक्ति बनेर उदाए । उनले शनिबार नै पोखरेल नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीको शपथ खाइसकेका छन् । मनाङ्गेले अब युवा तथा खेलकुद मन्त्री नआइ शक्तिशाली मन्त्रालयको दाबी गरिरहेको काँग्रेस सांसद बताउँछन् ।