भाइरसले स्वरूप परिवर्तन गरेको स्केच : अमर उजालाबाट
भारतमा फेरि कोरोनाले अर्को घातक स्वरूप लिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको दोस्रो लहरमा आतंक मच्चाइरहेको डेल्टा भेरिएन्ट अझ संक्रामक बनेको हो। डेल्टा उत्परिर्वतन भएर बनेको नयाँ भेरिएन्टलाई भारतका वैज्ञानिकले डेल्टा प्लस भनेर नामकरण गरेका छन्।
अहिलेसम्म यो नयाँ भेरिएन्ट भारतका ६ राज्यमा ८ वटा नमुनामा पुष्टि भएको छ। वैज्ञानिकले डेल्टा प्लसलाई के४१७एन को नाम पनि दिएका छन्। यो बी.१.६१७ (डेल्टा) मा फेला परेको हो। यसकारण वैज्ञानिकले यसलाई बी.१.६१७.२.१ पनि भनेका छन्। साथै यसलाई वैज्ञानिकले एवाई.१ नामबाट पनि पहिचान गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो भेरिएन्ट सबैभन्दा बढी ३ बिरामीमा देखिएको छ। यसबाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ।
दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ। अहिलेसम्म यो म्युटेसन फैलिएकोबारे वैज्ञानिकलाई थाहा हुन सकेको थिएन। किनकि भारतमा जिनोम सिक्वेन्सिङ पर्यापत्त मात्रामा भइरहेको छैन। गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन (डेल्टा प्लस) देखिएको हो।
सीधै एन्टिबडीमा आक्रमण गर्ने
जुन नमुना सबै डेल्टा भेरिएन्टबाट संक्रमित थिए। के४१७ (डेल्टा प्लस) म्युटेसन भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तो परिवर्तन लिएर आएको छ। जसले सीधै मानिसको शरीरमा रहेको एन्टिबडीमा हमला गर्छ। अर्थात् यो भेरिएन्ट यति शक्तिशाली छ कि यसले मानिसलाई पटकपटक संक्रमण गर्न सक्ने मात्र होइन, खोप लगाइसक्दा पनि संक्रमित हुने जोखिम देखिएको छ। जसलाई वैज्ञानिकले ब्रेक थ्रु इन्फेक्सन भनेका छन्।