तस्विर पत्रकार युवराज श्रेष्ठको फेसबुकबाट
पोखरा । अबिरल परेको बर्षाका कारण मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं। १ मा पर्ने तालगाउँमा मस्र्याङदी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । त्यहाँ रहेका ६० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तीनसयजना स्थानीयवासीलाई कारागारको नयाँ निर्मित भवनमा सुरक्षित राखिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार तालगाउँ पुरै डुबानमा परेको छ । मानवीय क्षति नभएको र ती गाउँलेहरुलाई सुरक्षित ठाउँमा सारिएको भएपनि अत्यावश्यक र आधारभूत कुराहरु पु¥याउन नसकिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
पाल र अन्य खाद्यान्न सहयोगका लागि लमजुङस्थित रेडक्रस सोसाईटीलाई गुहार मागिए पनि ठाउँठाउँमा बाटो बाढीले बगाउँदा र पुर्दा टोली अझै पुग्न सकेको छैन । यता काठमाडौंबाट उद्धार र राहत सामाग्री बोकेर जाने तयारीमा रहेको हेलिकोप्टर अबिरल बर्षाका कारण उड्न नसकेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । मनाङमा यतिबेला विजुली समेत छैन भने टेलिफोन सेवा ठाउँ ठाउँमा अवरुद्ध भएको छ । मनाङमा बाढिका कारण भएको क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।
गण्डकी प्रदेशका सुरक्षा निकायहरु हाई अलर्टमा रहेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालका अनुसार सुरक्षा निकायहरुलाई जोखिम क्षेत्रहरु वरपर हाई अलर्टमा राखिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्याल मनाङका प्रवक्ता एवं डिएसपी सुवास खड्काका अनुसार मनाङको सदरकुमाम चामेस्थित तातोपानी कुण्ड नजिकैको वस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका वडा नं। १ तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोला मैं रहेको ३२ किलोवाटको स्याल्कयुखोला लघुजलविद्युत गृहमा पनि क्षति क्षति पुयाएको छ ।