धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको तुलनामा आकार घटाएर ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार अगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवाको सुधार तथा विस्तारसँगै पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखेको बताए ।
सरकारले अगामी आर्थिक वर्षका लागि विनियोजन गरेको कुल ३० अर्ब ३३ करोड ९५ लाख बजेटमा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ११ अर्ब ७५ करोड बजेट छुट्याएको छ । यो कुल बजेटको ३८।८ प्रतिशत भएको मन्त्री शाहले बताए । सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड बजेट दिइएको छ । जसमा ठूलो बजेट स्वास्थ्य सेवाको विस्तार तथा सुदृढीकरणका लागि राखिएको उनले बताए ।
स्वास्थ्य, शिक्षा तथा खेलकुद प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधार, सेवा विस्तार र स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षलाई अस्पतालको स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउँदै स्वास्थ्य पूर्वाधार निर्माण तथा विस्तारका लागि २ अर्ब ५८ लाख रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले बताए ।
कोरोना महामारीको उपचार, रोकथाम तथा नियन्त्रणका लागि ९० करोड, सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर निर्माण, टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण गर्न ५ करोड, कैलालीको लम्कीचुहा सामुदायिक अस्पतालका लागि ८ करोड, महाकाली अस्पतालका लागि ५ करोड, जिल्ला अस्पताल डोटीको भवन निर्माणका लागि ५ करोड, प्रादेशिक आयुर्वेद औषधालय निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ज्येष्ठ नागरिक उपचार राहत कोष स्थापना गर्न १ करोड, सामुदायिक विद्यालयका भवन निर्माणका लागि एक अर्ब १७ करोड, मेरो विशेषता मेरै प्रदेशका लागि’ भन्ने नारासहित गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमडी, एमबीबीएस अध्ययनसहित चिकित्सा छात्रवृत्ति, उच्च शिक्षा र प्राविधिक शिक्षा छात्रवृत्तिका लागि ३ करोड विनियोजन गरिएको छ । प्राविधिक विद्यालय तथा क्याम्पसका भवन निर्माणका लागि २८ करोड विनियोजन गरिएको छ ।
विभिन्न ठाउँमा रहेका ११ वटा इलाका प्रहरी कार्यालय, चौकी निर्माण र स्तरोन्नतीका लागि ११ करोड १७ लाख, प्रदेश प्रहरी मुख्यालयको भवन निर्माणका लागि ११ करोड, प्रदेशमा कार्यरत प्रहरी कर्मचारीको क्षमता विकास तथा साइवर अपराध नियन्त्रणका लागि ४५ लाख विनियोजन गरिएको छ ।
प्रदेशमा कार्यरत पत्रकारहरुको स्वास्थ्य उपचार तथा सुरक्षाका लागि पत्रकार महासंघसँगको समन्वयमा आवश्यक कार्यविधि बनाएर उपचार सहायता कार्यक्रमका लागि ४० लाख र सञ्चार जगतको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, सञ्चार नीति तर्जुमा, रेडियोहरुलाई पुँजीगत अनुदान र लोक कल्याणकारी विज्ञापनका लागि ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको मन्त्री शाहले बताएका छन् । चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ ।