श्रावण १२, २०७७ सोमवार
•
१४:०७:२५ बजे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद 'फाइट टु फिनिस'को अवस्थामा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आआफ्नो तयारी गरेका छन् । एक हप्तासम्म बैठक स्थगित गरेर सहमतिका लागि प्रयास गर्ने भनिए पनि ओली-प्रचण्डबीच साउन ९ गतेमात्र झण्डै दुई घन्टा भेटवार्ता भयो । साउन ६ गते झण्डै आधा घन्टामात्र बैठक बसेर १३ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।
अध्यक्षद्वयबीचको भेटवार्तामा कुरा मिल्ने अवस्था नदेखिएपछि त्यहीँ दिन प्रचण्डले ओलीकै सक्रियता र पहलमा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको बताएका थिए । सीमा समस्याका विषयमा पनि ओलीविरुद्ध प्रचण्डले अभिव्यक्ति दिएपछि ओली निकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रतिवाद गर्दै स्टाटस लेखेका थिए । उनी स्टाटस लेखेर प्रचण्डलाई भेट्न खुमलटार पुगेर महाधिवेशनबाट अध्यक्ष बन्ने प्रस्ताव गरे ।
साउन ६ गतेदेखि योबीचमा पटक पटक महासचिव विष्णु पौडेलले अध्यक्षद्वयबीच सहमति गराउने प्रस्ताव भन्दै छलफल गरेका छन् । तर, पछिल्लो समय दुवै अध्यक्ष 'फाइट टु फिनिस'को अवस्थामा पुगेको स्रोतले जनाएको छ । महासचिव पौडेलले पनि आफू निकट नेताहरुसँग आफ्नो कुरा दुवैतर्फबाट नसुनिएको गुनासो गर्न थालेका छन् ।
साउन ६ गतेपछि दुवै पक्षले आफूलाई बलियो बनाउनेगरी छलफल थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले बालुवाटारमा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई भेट्नेक्रम जारी राखेका छन् । शनिबार र आइतबार ओलीले झण्डै एक दर्जन नेताहरुसँग परामर्श गरेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्नका लागि संघीय संसदका दुवै सदनको बहुमत भएको पक्षले चुनाव चिन्ह पाउनेगरी अध्यादेशको ड्राफ्ट गरेका छन् । उनी निकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'हामीले उहाँहरुलाई महाधिवेश गरौँ भन्दा मान्नु भएन । अब अर्को तरिकाले अगाडि बढ्ने निष्कर्षमा पुगियो । चुनाव चिन्ह पनि हामीले नै लिनेगरी तयारी भइरहेको छ । उताका सांसदसँग छलफल भएको छ । धेरैले सकारात्मक कुरा गरेकाले विभाजनको अवस्थामा पनि चुनाव चिन्ह पनि हामीसँगै हुन्छ ।'
तर, प्रचण्ड नेपाल पक्षले पनि आफ्नो तयारी तिब्र बनाएको छ । ओलीका विश्वास पात्रहरुसँग पनि प्रचण्डले छलफल थालेका छन् । संसदीय दलमा बहुमत पुर्याउन रोक्नेगरी छलफल थालिएको एक नेताले जानकारी दिए । उनले भने, 'उहाँहरुले गरेका तयारीका विषयमा हामी जानकार छौँ । उहाँका विश्वासपात्र नै हामीसँग निरन्तर संवादमा हुनुहुन्छ । त्यसैले उहाँलाई पार्टी विभाजन रोक्नका लागि पहिलो प्रयास हुन्छ । त्यसका लागि हामीले पनि तयारी गरिसकेका छौँ ।
भोलिको स्थायी कमिटी बैठक रोक्नका लागि बालुवाटार सक्रिय छ । बैठक नियमितरुपमा अगाडि बढाउने तयारी खुमलटार पक्षको रहेको छ । त्यसैले भोलिको बैठकसमेत अन्योलमा परेको नेताहरुले बताएका छन् । ओली निकट एक नेता भन्छन्, 'अध्यक्षद्वयबीच सहमति कायम गर्नका लागि बैठक स्थगित गरिएकाले भोलि पनि बैठक बस्ने सम्भावना छैन । फेरि पनि सहमति कायम गर्नुपर्छ । त्यसैले बैठक स्थगित गरेर सहमतिको प्रयास हुन्छ । उहाँहरुले बहुमतको दम्भ देखाउन थाल्नु भएको छ । यो राम्रो कुरा भएन ।'
प्रचण्ड निकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'अब प्रक्रिया अनुसार नै अगाडि बढ्नुपर्ने देखिन्छ । अहिलेसम्म सहमतिका लागि गरिएको प्रयासमा प्रधानमन्त्रीजीले शक्ति सञ्चयमा केन्द्रित गर्नुभयो । अब पार्टीले व्यक्ति हेरेर होइन, विधि हेरेर निर्णय गर्छ । त्यसपछिको जुनसुकै अवस्थाको सामना गरेर अगाडि बढ्ने नै हुन्छ ।