नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरु सँगको छलफलमा पार्टी सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । देउवाले शनिबार बिहान आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन्। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् ।
बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस् भन्नुभयो।’ साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यका अनुसार देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र सभापतिमा फेरि लड्ने इच्छा व्यक्त गरेका थिए । ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ ।
म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने । बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ। छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए।
बैठकमा छलफलमा सहभागी एक नेताले भने, ‘सभापति फेरि उठ्ने देखिन्छ। उहाँको कुरा सुन्दा पछि हट्ने सम्भावना देखिँदैन।’ केही केन्द्रीय सदस्यले सभापतिमा पुनः दोहोरिनु पर्ने मत समेत राखेका थिए।