गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।
नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ पुगेको छ । यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् ।
गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ । स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ ।
२२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् ।