Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

९९ केन्द्रीय सदस्य थप्दै माओवादी,अब २९९ सदस्यीय केन्द्रीय समिति हुने

९९ केन्द्रीय सदस्य थप्दै माओवादी,अब २९९ सदस्यीय केन्द्रीय समिति हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७८ सोमवार • ११:२६:११ बजे
  • 796
    SHARES
  • ९९  केन्द्रीय सदस्य थप्दै माओवादी,अब २९९ सदस्यीय केन्द्रीय समिति हुने

    नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ । संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने। केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए ।

    images

    कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए । केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । ‘प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ,’ नेता शर्माले भने, ‘यो काम आज (सोमबार) नै सकिन्छ होला ।’ सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो ।

    कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् । यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।

    एक समय माओवादीमा ४ हजार बढी केन्द्रीय सदस्यहरु थिए । २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेका थिए । २०७७ फागुन २३ मा सर्वोच्चले एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।

    पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अब उनीहरु नफर्किने निष्कर्षसहित रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादीको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology