अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातल काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।
शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शर्मा त्यो समयमा आन्तरिक राजश्व विभागका महानिर्देशक थिए । नेपाल सरकारले २०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्यौट गर्न समिति बनाएको थियो ।
उक्त समितिले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको विषयमा छानबिन गरेको आयोगको विज्ञप्तिमा उल्ले गरिएको छ । आयोगका अनुसार, अनुसन्धान हुँदा करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रु.१,००,३३,२०,३८५।- (अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ) बक्यौता कर छुट दिएको पुष्टि हुन आयो ।
