एमाले उपाध्यक्ष भीम रावलले राज्यका जिम्मेवार निकायमा रहेकाहरुले जातीय विभेदका घटनालाई बढवा दिनु आपत्तिजनक रहेको बताएका छन्। उपाध्यक्ष रावलले कानुन विपरित काम गर्ने जो कोहीलाई कानुन आकर्षित हुने समेत बताए।
उनले नेपालको संविधानले जातीय विभेद र छुवाछुतलाई सामान्य नमान्ने स्पष्ट पारे। जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान अपुरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो। ‘देशको मन्त्रीबाट यस्तो हुनु भनेको गम्भीर र संवेदनशील विषय हो। जन्मजात विभेदमा पारिएकाहरुलाई न्याय दिने पहिलो कर्तव्य सरकार र सरकारमा रहनेहरुको हो’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरु अझै संवेदनशील बन्नुपर्छ। जहाँनेर उलंघन हुन्छ त्यो आपत्तिजनक हुन्छ। सम्बन्धित व्यक्तिले गम्भीर रुपमा महसुस गर्नुपर्ने कुरा हो।