संघिय संसदको तल्लो सदन प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदन दिएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । इजलासले रिट निवेदक पक्षलाई बहसका लागि १२ घण्टा समय दिएको थियो। उक्त समयभित्र सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारसम्म ३६ जनाले बहस गरेका छन् ।
पहिलो दिन बुधबार ५, बिहीबार ९ र शुक्रबार ६ जनाले बहस गरेका थिए। अन्तिम दिन आइतबार १६ जनाले बहस गरेका हुन्। ‘रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थियौं त्यो समय सकिएको छ’, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए । विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।
त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ । गत जेठ ८ गते संसद विघटन गरेपछि त्यसविरुद्ध ३० वटा रिट परेका भएपनि पहिले मूल निवेदक १४६ सांसदको रिटमा सुनुवाइ भएको हो। अन्य रिट बारे त्यसपछि मात्रै निर्णय हुनेछ।
मुद्दाको सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको थियो।