नेकपा एमालेले हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको हो । बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले शनिबार राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।
एमालेका एक नेताका अनुसार अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउनेछ । पूर्वमाओवादी साथीहरुले परिषदमा राख्नका लागि ५६० जनाको नाम टुंग्याएको र १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्ने ती नेताको भनाई छ ।
ती नेताका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो । यो परिषदका सदस्यहरु काँग्रेसका महासमिति सदस्यजस्तै हुनेछ । गत पुस ५ मा संसद विघटन गरेपछि ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । तर, दोस्रोपटक संसद विघटन गर्ने बेलासम्म आइपुग्दा २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइयो र ११९९ मध्येका बाँकीलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा परिवर्तन गरिएको थियो ।
परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय नै छ । यसमा ५६० जनाको नाम थप्न पूर्वमाओवादीले माग गरेको हो । स्रोतका अनुसार आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरुको नाम थप्नेबारे छलफल भएको थियो । अब असार १६ गते बस्ने आयोजक समितिको बैठकले परिषदमा ती नामहरु थप गर्ने बताइएको छ ।