नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।
केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो ।
आगामी शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएको हो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र उठिरहेको थियो । तर माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ ।