नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा दिनुपर्ने एमाले गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले माग गरेका छन् । पूर्वमन्त्री विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएको आरोप लागेका शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।
उनले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री श्रेष्ठको कदमबारे गम्भीर हुन आग्रह गरेका थिए । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
एमाले बैठकमा मन्त्री श्रेष्ठको आलोचना भएको छ । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई सचेत गराए पनि बैठकमा यो विषय प्रवेश गरेको हो । उता मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको भन्दै आफुल गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताइसकेका छन् ।