नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३औं बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्न लागिएको हो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।
आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले बताए । माधव पक्ष पूर्वमाओवादीबिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भइनसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ ।
संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् । बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् । यो बैठक माधव नेपाल पक्षको माग र सर्वोच्चको आदेशपछि महाधिवेशन आयोजक कमिटी भंग गरेर बोलाइएको हो । बैठकमा सहभागी हुन भने उपाध्यक्ष वामदेव गौतम सकारात्मक रहेको बताइएको छ । बुधबार एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।