रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको दोहोरो झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार साँझ आठबिसकोट नगरपालिका-३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका कार्यकर्ताहरु गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएकाे घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो । झडपमा संलग्न नेपाली कांग्रेसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक रुपले विकट र सञ्चार सम्पर्क समेत हुन नसकेको घटनाको थप विवरण आउन सकेको छैन ।
नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आराेप लगाएकाे छ । गम्भीर घाइते दुवै जनालाई उद्धारको लागि हेलिकप्टर मगाएकाे भए पनि खराब मौसमको कारण सम्भव नभएको श्रेष्ठले बताउनुभयो ।
अहिले सडक पुगेको ठाउँसम्म एम्बुलेन्स पठाउने र घटनास्थलबाट स्टेचरमा ल्याएर आठबिसकोट नगर अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट र आठबिसकोट इलाका प्रहरी कार्यालयबाट थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताउनुभयो ।
राजु लामिछानेले उज्यालोअनलाइनमा समाचार लेखेका छन ।