पत्रकार तथा कलाकार रुपा सुनारले जातीय विभेद गर्ने घरबेटी र घरबेटीलाई प्रहरी कार्यालयबाट छुटाउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी छिन् । दलित भएकै कारण कोठा भाडामा दिन बबरमहलकी घरबेटी सरस्वती प्रधानले अस्वीकार गरेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । तर प्रहरी थुनामा रहेकी प्रधानलाई शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठले आफ्नो गाडीमा हालेर घर लिएर गएका थिए । जातीय विभेदविरुद्ध न्याय खोज्न उजुरी दिँदा झन विभेद गर्ने घरबेटी र मन्त्री श्रेष्ठविरुद्ध रुपाले आइतबार सर्वोच्चमा रिट दिएकी हुन् ।
रिटमा जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाइएको छ । घरबेटी प्रधानले आफू दलित समुदाय भएकै कारण कोठा नदिएको र न्याय माग्दा शिक्षामन्त्रीले झन पीडा हुने गरी विभेदलाई प्रश्रय दिएको रुपाको रिट निवेदनमा उल्लेख छ । रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न रुपाको माग छ ।
शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गरेकाले रुपाले मन्त्रीमाथि कारबाहीको माग गरेकी छिन् । यस प्रकरणका आफ्नो चर्को आलोचना भएपछि शिक्षामन्त्री श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर माफी मागेका थिए । घरबेटी प्रधानले समेत आयोगमा पुगेर रुपाविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । यसबाट झन् विक्षिप्त भएकी रुपाले प्रहरीबाट न्याय पाउने सम्भावना नरहेको देखेपछि सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।
सर्वोच्च अदालतमा रुपा सुनाले दर्ता गरेको रिट निवेदन
RUPA_WRIT_Final.pdf :To download file click here