विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । उनले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताए । आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताए ।