नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । स्वर्गीय यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेका थिए । २०४८ सालमा जागिर छोडेर यादव तत्कालिन जनमोर्चाका तर्फबाट बालबाखर गाविस (हाल सहिद नपा–१) को उपाध्यक्ष बनेका थिए ।
यादव तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए । उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए । महादेव यादवको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख ब्यक्त गरेका छन । प्रचण्डको शोक वक्तव्यमा भनिएको छ, ‘महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी यादव महान् जनयुद्धमा सक्रियतापूर्वक सहभागी हुनु भएको थियो । यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।
उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको छ भने हाम्रो पार्टीले समर्पित सहकर्मी गुमाएको छ । कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ । आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली जस्ता दिवंगत कमरेड यादवका आदर्श पक्ष कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् । हाम्रो पार्टी उहाँप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’ स्वर्गीय महादेव यादवका श्रीमती, दुई छोरी र एक छोरा छन ।
