एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ । उनको आज बिहान ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो । दिलीप कुमारको जन्म सन् १९२२ डिसेम्बर ११ मा पाकिस्तानको पेशावरमा भएको हो । उनको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
दिलीप कुमारले २२ वर्षको उमेरमा भारतीय चलचित्रमा अभिनय थालेका थिए । उनले सन् १९४४ मा फिल्म ‘ज्वार भाटा’बाट अभिनय थालेका थिए । दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मालगायत फिल्म उनका चर्चित छन् ।
उनको अन्तिम फिल्म किला सन् १९९८ मा सार्वजनिक भएको थियो । दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । उनी सबैभन्दा धेरै अवार्ड जित्ने कलाकार हुन् । दिलीप कुमार सन् १९९१ मा पद्म भूषण, सन् २०१५ मा पद्म विभूषण तथा सन् १९९४ मा दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका थिए । उनी सन् २००० देखि २००६ सम्म उनी राज्यसभामा सदस्य रहेका थिए ।