नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आ-आफ्नै प्रस्ताव अगाडि सारेका छन् । उपाध्यक्ष बामदेव गौतमको समर्थन प्राप्त गरेपछि ओलीले सचिवालय बैठकमार्फत सहमतिका लागि प्रयास गर्ने प्रस्ताव प्रचण्डसँग पठाएका छन् । प्रचण्डले जारी स्थायी कमिटीबाट नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
नेकपाको बहुमत सदस्यको उपस्थितिमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार अध्यक्षद्वयबीच संवाद हुनुपर्नेमा संवादहीनताको अवस्था देखिएको छ । संवादहीनताको अन्त्यका लागि भन्दै महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग निरन्तर छलफल गरिरहेका छन् । आज बिहान खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका महासचिव पौडेलले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीसँग लगत्तै छलफल गरेका छन् ।
स्रोतका अनुसार सकभर आज नै ओली-प्रचण्ड भेटवार्ता हुनेछ । दुवै पक्षका नेताहरुले पनि शीर्ष नेताहरुसँग भेटवार्ता जारी राखेका छन् । अनौपचारिक संवादमा पनि दुबै पक्षले आआफ्नै अडान राख्ने गरेका छन् । त्यसैले नयाँ सहमति तत्काल हुन नसक्ने एक सचिवालय सदस्यको दावी छ ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको सक्रियतामा उपाध्यक्ष गौतम ओलीको पक्षमा लागेका छन् । उनले ओली निकट नेताहरुकै प्रस्तावलाई विग्रह रोक्ने भन्दै सार्वजनिक गरेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट एक नेताले जानकारी दिए । उनले भने, 'उहाँ बलियो हुँदा सचिवालय बैठक बोलाउने र अन्य बलियो हुँदा भाग्ने खालको समस्या देखियो । उपाध्यक्षलाई आफ्नो पक्षमा पार्नका लागि पनि महासचिव पौडेलको प्रयासमा ओली सफल भएकाले अहिले उहाँहरुले सचिवालय बैठकमा जोड दिनु भएको छ ।'
गुटहरुप्रति प्रतिबद्ध देखिएका नेताहरु अदलबदल हुन थालेका छन् । दुवैपक्षबाट विभिन्न प्रकारका छलफलले यो अवस्था सिर्जना गरेको हो । एकहप्तादेखि दुवै पक्ष शक्ति संचयमा लागेका छन् । अबका एकदुई दिन दुवै पक्षले शक्ति संचय गर्ने र अर्कोविरुद्ध दबाब बढाउनमा केन्द्रित गर्ने देखिएको छ ।