नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीका आन्तरिक विवादका विषय मिलाउन गठित कार्यदलमा कुरा मिलेको बताएका छन् । उनले पाँच वटा बुँदामा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यबीच आन्तरिक सहमति भएको बताएका हुन् । तर, मुख्य नेताबीच कुरा नमिलेको उनको भनाइ छ । “अन्ततः एमालेमा एकता हुन्छ ।
अहिलेको अवस्था हेर्दा अंग्रेजीको ६ अंक जस्तो देखिन्छः एकातिरबाट हेर्दा कार्यदल स्तरमा विषयवस्तुमा मिल्न बाँकी केही देखिँदैन, ५ बुँदामा सबै समेटिएको छ, उठेका सबै विषय सम्बोधन भएका छन्” उनले ट्विटरमा लेखेका छन्,“अर्कोतिरबाट हेर्दा प्रमुख नेताहरुका बीचमा खास कुरा मिलेकै छैन ।
एमालेमा एकताका लागि युवा नेताहरु तयार भएपनि शीर्ष नेतामा समस्या देखिएको उनले बताएका छन् । शुक्रबार बस्ने बैठकबाट सबै आन्तरिक विवादका विषय टुंगिने कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङको भनाइ छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विवाद मिलाउन ठोस सहमति हुन सकेको छैन ।