नेकपा (माओवादी) केन्द्र को दलीय हैसियत खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको रामबहादुर थापा ‘बादल’समूहका नेता आज पनि निर्वाचन आयोग जाने भएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका बादल समूहका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। उनीहरुले बुधबार माओवादी केन्द्रको दलीय हैसियत खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।
माओवादी केन्द्र अवैधानिक हो भन्ने उजुरीका विषयमा आयोगमा के भइरहेको छ भन्ने जानकारी लिन आयोग जान लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए। कानुन बमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम नहुने भन्दै दल दर्ता खारेजी हुनु माग गर्दै बुधबार बादल समूहका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए। बादल पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले माओवादी पार्टीले महाधिवेशन लगायत सम्पूर्ण गतिविधि नगरेकाले अवैधानिक दलले आफूहरुलाई कारबाही गर्न नसक्ने जिकिर गरेका छन्।
माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य बादलसहित प्रतिनिधि सभाका चार सदस्यउपर यसअघि नै कारबाही भैसकेको छ । त्यस्तै, प्रदेश सभा सदस्य ८ जना र स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई पनि माओवावदी केन्द्रले कारबाही गरिसकेको छ ।