नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन् ।
पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।
प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भने, ‘पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि देउवा सर्वोच्च गए, जहाँ उनले माधव नेपाल समूहका २३ सांसदको साथ पाएका थिए । सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।