शेरबहादुर देउवा नेतृत्वको सरकारमा कुन दलबाट को–को मन्त्री बन्ने भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । गठबन्धन दलको सरकार भएकाले कसले कति मन्त्रालय लिने भन्ने कुनै टुंगो लागेको छैन । तर, आकांक्षीहरुको नामलिष्ट लामो बनेकाले कांग्रेसदेखि माओवादी केन्द्रसँगै जसपामा समेत सकस परेको छ ।
माओवादी केन्द्रले गृह वा अर्थ अनिवार्य आफूहरुले पाउनुपर्ने माग राखेको छ । त्यस्तै, जसपाले पनि गृह वा अर्थमध्ये एक चाहिने अडान राख्ने गरी बैठकमा छलफल भइरहेको छ । शक्ति सन्तुलन कायम गर्न नसक्दा देउवा नेतृत्वको सरकार कमजोर बन्ने स्थिति रहेकाले सबैलाई समेट्न र चित्त बुझाएर अघि बढ्ने तयारीमा देउवा छन् । माओवादी केन्द्रबाट सहभागी गराउने मन्त्रीहरुको नामबारे अहिले आन्तरिक रुपमा व्यापक छलफल चलिरहेको छ । एक पक्षले कृष्णबहादुर महरालाई मन्त्री बनाउनुपर्ने दावी गरिरहेका छन् ।
केपी ओलीले महरालाई फसाएका कारण पनि उनलाई मन्त्री बनाउनुपर्ने प्रचण्ड निकटकै नेताहरु सक्रिय रुपमा लविङमा छन् । त्यस्तै, जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठको पनि मन्त्री बन्ने व्यापक चर्चा छ । उनीहरु सोही अनुसारले लविङमा छन् । बागमतबाट हरिबोल गजुरेल र हितकाजी तामाङको मन्त्री बन्ने चर्चा छ । सिन्धुली–२ बाट आगामी निर्वाचनमा प्रचण्ड उम्मेदवार बन्ने आन्तरिक तयारीले गर्दा पनि हरिबोललाई मन्त्री बनाउने प्रवल सम्भावना छ । मधेशबाट पुनः मन्त्री बन्नेमा मातृका यादव पर्छन् । मधेसमा उनी जत्तिका खरा नेता छैनन् । प्रभु शाह एमाले गइसकेपछि मधेसमा मातृका निर्विकल्प पात्र हुन् । त्यसैगरी, प्रदेश १ बाट सुदन किराँतीको सम्भावना छ ।
नयाँ शक्तिबाट माओवादीमै आएकामा देवेन्द्र पौडेल निर्विकल्प पात्र हुन् । उनी पछिल्लो समय ओली सरकार गिराउन योजनावद्ध रुपमा लागेका नेता समेत हुन् । रामबहादुर थापा बादल गुटबाट माओवादीमा समाहित भएकामध्येबाट पम्फा भुसाल र देव गुरुङमध्ये एकजनालाई मन्त्री बनाउने पक्कापक्की छ । महिला भएका कारण पनि भुसाल मन्त्री बन्ने बढी सम्भावना रहेको स्रोत बताउँछ । त्यसैगरी, सदुरपश्चिमबाट मन्त्री बनाउने गरी तयारी भइरहेको एक नेताले बताए ।