पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् ।
सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् । यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् ।
त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी गरे । प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताएका हुन् । सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए ।