पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेताहरुको चर्को आलोचना गरेका छन । आफ्नै दल नेकपा एमालेको सरकार ढालेर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको आरोप लगाउँदै थापाले आलोचना सर्वजनिक भएको हो ।
मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका थिए । यही विषयलाई लिएर आलोचनात्मक टिप्पणी गर्दै थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवालाई पहिलो बधाई दिन आतुर रहेको बताएका छन् । उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाले गद्दारी गरेको भन्दै नाम पनि उल्लेख गरेका छन् ।
यो सबै २३ जनाले गरेको गद्दारीको परिणाम भएको भन्दै उनले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा. भिम रावल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतको नाम ट्विटरमा लेखेका छन । उनले लेखेका छन् – ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु. नेपालको निम्ति त यो हर्षविभोर क्षण होला ! जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति, हलो ताछी मुङ्ग्रो बनाएजस्तै हो। यिनै २३ को गद्दारीको परिणाम त हो !
