पोखरा । बालुवाटारबाट निजी निवास सरेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै राजनीतिक दल र नेताको मूल्यांकन गर्न पाउने जनताको अधिकार सर्वोच्च अदालतले खोसेको बताएका छन ।
सर्वोच्चको फैसलाले पदमुक्त भएपछि बुधवार बालुवाटारबाट बाल्कोटस्थित निजी निवासमा सरेपछि बरण्डाबाट कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
'नेपाली जनताको अधिकार खोसिएको छ । नेताको, सरकारको मूल्यांकन गर्न पाउने जनताको अधिकार खोसेर,' ओलीले भने, 'अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कोही नभएको जात्रा भयो ।' ओलीलाई युवा संघका कार्यकर्ताले स्कर्टिङसहित बालुवाटारबाट बालकोट पुर्याएका हुन् । बालकोटमा एमाले कार्यकर्ताले ओलीलाई ब्यान्ड बाजासहित स्वागत गरेका थिए ।
ओलीले अन्य नेताको हकमा गल्ती कमजोरी स्वीकारेर एमालेमा आउने छूट भएपनि माधव नेपालको हकमा गल्ती स्वीकार्ने ठाउँ नभएको बताएका छन् । ओलीले माधव नेपाललाई ‘लाज शरम हराएको व्यक्ति’ भनेर आरोप लगाए ।
‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल जस्ता लाज शरम हराएका व्यक्तिले त्यसको अगुवाइ गरे,’ ओलीले भने । ओलीले अहिलेको परिस्थिति आउनुको मुख्य जिम्मेवार माधव नेपाल भएको आरोप लगाए । ‘अन्य कार्यकर्ता कमजोरी स्वीकारेर पार्टीमा आए भूमिका दिइने छ । माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन,’ ओलीले भने, ‘यो परिस्थितिको निर्माण गर्ने, विकासप्रेमी सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपाल हुन् ।’
ओलीले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा माधव नेपालले हात अगाडि बढाएकोमा पनि व्यंग्य गरे । ‘देउवाले हात दिन मानेका छैनन्, तर हात दिन अगाडि सरे,’ ओलीले भने ।
उनले आफ्नो बिदाइका लागि घरसम्म आएका कार्यकर्तालाई धन्यवाद पनि दिए ।