नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गर्ने कार्यदलको सिफारिसलाई अस्वीकार गरेका छन् । विहीबार १० सदसीय कार्यदलले एमाले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कार्यदलका संयोजकद्धय सुवास नेम्वाड र भीम रावलले बैठक स्थगित गर्न आग्रह पनि गरेका थिए । तर ओलीले उनीहरुको आग्रह सुनेनन् । शुक्रवार विहान ११ बजे स्थायी कमिटी र दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।
‘बैठक रोकिदैन, च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ’, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने ‘दिउँसो संसद भवनमा संसदीय दलको बैठक बस्नेछ ।’ विहीबार बैठक स्थगित गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समुहले आग्रह गरेको थियो । वातावरण केही सहज भएपछि दुवै पक्षको सहमतिमा बैठक बोलाउन आग्रह गरेको थियो । तर ओलीले आग्रहलाई मानेनन् ।
प्रधानमन्त्रीबाट पदच्यूत भएपछि आक्रोसित बनेका ओलीले बालकोट पुगेर घरको बार्दलीबाट एमाले विभाजनको घोषणा गरेका थिए । माधव नेपालले आत्मआलोचना गरेपनि पार्टीका आउन नदिने दम्भपूर्ण अभिब्यक्ति दिएका थिए । आजको स्थायी कमिटी र संसदीय दलबाट ओलीले पार्टी विभाजनको औपचारिक घोषणा गर्नेछन् । योसँग एमाले एकताको सम्भावना लगभग सकिने कार्यदलका सदस्यहरुले नै बताएका छन् ।