पोखरा । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतवार बसेको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन् । त्यसका लागि प्रस्ताव संसद सचिवालयमा दर्तासमेत भइसकेको छ ।
नेपाल संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए। यो उपधारा अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
उनी कांग्रेस माओवादी केन्द्रसहितको पाँच दलीय गठवन्धनबाट प्रधानमन्त्री बनेका हुन् ।
देउवालाई विश्वासको मत दिन अस्पतालबाटै खनालको अपिल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गरेका छन्।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार प्रेस विज्ञप्ति जारी गरेर एमालेका सांसदहरुलाई देउवाको पक्षमा मत दिन आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘२८ असारको सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गरौं, फैसलालाई दृढतापूर्वक कार्यान्वयन गरौं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनका निम्ति जो कसैले जुनसुकै कुरा त्याग गर्न पनि तयार होऔं ।
देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौं । त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरू सञ्चालन गरौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले एकता, संघर्ष र उन्नत स्तरको एकताको द्वन्द्वात्मक प्रक्रियामार्फत पार्टीलाई नयाँ धरातलमा एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिएका छन्। ‘यो नै हाम्रो पार्टी एकताको सहि मार्ग हो। यो मार्गलाई ठीक ढंगले अनुसरण गर्न सकिएन र पार्टी नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिन सकेन भने हाम्रो पार्टीको एकता जोगाउन सम्भव छैन,’ उनले भनेका छन्।