पोखरा । नेकपा एमालेकी नेत्री राम कुमारी झाँक्रीले शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । आज आइतवार शेरबहादुर देउवाले प्रतिनिधि सभा वैठकमा विश्वासको मत लिदै छन ।
नेकपा एमालेको संसदीय दलको बैठकले देउवालाइ विश्वासको मत नदिने निर्णय गरेको छ । उक्त संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु सहभागी भएका थिएनन ।नेत्री झाँक्रीले भने प्रधानमन्त्री बनाउन देउवालाई समर्थन गरेको उल्लेख गरेकी छिन्।
उनले सामाजिक सञ्जाल मार्फत भनेकी छिन्, “हामीले ७६ (५) को प्रमका लागि संघीय संसद्का माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हौँ।” त्यसैले देउवालाई विश्वासको मत दिनु आफ्नो कर्तव्य भएको उनले उल्लेख गरेकी छिन्।
झाँक्रीले भनेकी छिन्, “अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।” उनले यसका लागि एमालेले सामूहिक निर्णय गर्नुपर्ने बताएकी छिन्। “सकिन्छ, नेकपा (एमाले)ले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं।” यदि त्यसमा पनि सहमति नबन्ने हो भने संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका २३ जनाले भोट हाल्नुपर्ने उनले बताएकी छिन्।
नेत्री झाँक्रीले भनेकी छिन्, “यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”
प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्न लागेको छ। प्रतिनिधि सभा पुनःस्थापनापछि बस्न लागेको पहिलो बैठकबाटै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन्।