पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
आइतबार संसदमा बोल्दै ठाकुरले आफूहरुले देउवालाई मत दिने बताएका हुन् । ‘तर, हामीले जसजसलाई मत दिएका छौँ, उनीहरुले हाम्रो आन्दोलन कमजोर बनाएका छन्,’ उनले भने, ‘अहिले देउवा जनताको आदेशले होइन, परमादेशले हो ।’उनले भने, ‘मत माग्नु भो, हामीले स्वीकार गर्यौँ, तर के यो संविधानले देश को समस्या समाधान गरिरहेको छ?
पहिला उपेक्षित अहिले पनि उपेक्षित।’ यो संविधानले गर्दा नै आफूहरुले गोली खानु परेको छ भन्दै उनले संसद जेल भएको समेत टिप्पणी गरे। उनले यो संविधानले गर्दा नै देशमा अहिले यो संकट आएको बताए। अध्यक्ष ठाकुरले नागरिकता कानुन ल्याएर केपी ओलीले आफूहरुको मुद्दामा केही साथ दिएको बताए।
‘हामी अदालतको सम्मान गर्छौँ, तर नागरिकता नभएको के नागरिक होइन, उसको राष्ट्रियता के हो? के राष्ट्रियताको निर्धारण पनि अदालत ले गर्ने हो?,’ उनले भने। उनले थपे, ‘यो देशमा मूर्तिहरुकै कानुनी अधिकार छ। तर, मानिसको छैन। किनभने उनीहरुसँग नागरिकता छैन।’ लाल आयोग को प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले आफूहरुको माग मुद्दामा सहमति भए पनि सम्झौता किन लागु गरिएन भन्दै प्रश्न गरे।