पोखरा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारीले पटक-पटक खड्ग प्रहार गरेको प्रतिनिधिसभा फेरि पुनर्जीवित भएको बताएका छन्।
आज प्रतिनिधिसभामा बोल्दै भट्टराईले पुस ५ गतेबाट पटक-पटक जनताले बनाएको संविधानको हत्या गर्ने प्रयास भएको बताएका हुन्। उनले भने, ‘भित्री र बाहिरी शक्तिको कारणले यस्तो भयो। भष्मासुर प्रवृत्ति हावी भयो।’
भट्टराईले हत्या हुनै लागेको संविधानलाई सर्वोच्चको फैसलाले बचाएको बताए। ‘सर्वोच्चको फैसला मैले धेरै पटक पढेँ। हामीले संविधान बनायौँ। यो संविधानको हत्या हुनै लागेको थियो। यो फैसलाले संविधान बचाएको छ। हामीले भुलेको कुरा सम्झाएको थियो। गल्ती दोहोर्याउने काम नगरौँ। प्रतिगमन तिर देश गएकै थियो,’ उनले भने।
राजनीतिक नेताहरुप्रति जनताको हेराइ राम्रो नभएको भन्दै उनले असल हुने कोशिस गर्न नेताहरुलाई आग्रह गरे। उनले भने, ‘सामाजिक सञ्जाल हेरौँ, हामीप्रतिको जनताको हेराइ राम्रो छैन। ओली त बिदा भए, तर तिमीहरू कति राम्रो छौ र भन्ने धेरै छन्। खराब भन्दा खराब चुन्ने काम भयो भन्दैछन्। त्यसैले असल हुने कोशिस गरौँ।’
भट्टराईले आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति व्यंग्य गरेका छन् । प्रधानमन्त्री पद पाउन सक्ने बेलामा पार्टी नै विवादको भूमरीमा फसेको संकेत गर्दै उनले अभागीलाई खाने बेलामा रिस उठ्ने नेपाली उखानको स्मरण गरेका ।
वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको उनको भनाइ थियो । जसपा पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको उल्लेख गर्दै उनले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो, हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैँले निकास दिन सक्थ्यौँ, हामी आपसमा झगडा गर्न थाल्यौँ ।’
ढिलै भए पनि साथीहरु ठीक ठाउँमा आइपुगेको भन्दै उनले आगामी दिनमा मिलेर अघि बढ्न आग्रह गरे ।