काठमाडौं । यातायात व्यवसायीहरुले काठमाडौंमा भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै र्याली निकालेका छन् । बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित व्यवसायीहरुले र्याली निकालेका हुन् ।
बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्यालीले रिङरोड परिक्रमा गर्ने छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । ‘कि २०६९ सालमा भाडा समायोजन गर्दा भएकै पेट्रोल–डिजेलको मूल्य कायम गर्नुपर्यो कि भने वैज्ञानिक भाडा समायोजन गर्नुपर्यो,’ उनले भने ।
संघ सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था आएको उनले बताए ।