नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।
समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाउने ओली पक्षको प्रस्तावप्रति सकारात्मक बन्न सकिने जनाऊ दिएका छन् । तर, दोस्रो अध्यक्षमा आफ्नो रुची नरहेको भन्दै नेता नेपालले झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने बताएका छन् ।
माधव पक्षको पछिल्लो स्थायी कमिटी बैठकमा नेता नेपालले ओलीसँग दोस्रो अध्यक्ष बन्ने आफूमा कुनै रुची नरहेको स्पष्ट पारे । तर, सबैको सहमति भएमा महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाएर अघि बढ्ने प्रस्तावमा आफ्नो सहयोग रहने नेता नेपालले आफ्नो समूहको बैठकमा बताए ।भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका दोस्रो पुस्ताका नेताहरु नै दोस्रो अध्यक्ष बनेर सहमति जुट्छ भने पनि त्यसमा आफ्नो सहयोग हुने नेता नेपालले बैठकमा बताएका थिए । बैठकमा नेपालको भनाइ थियो, ‘तपाईहरु अध्यक्ष बन्नोस्, यसमा मेरो सहयोग रहन्छ, तर दोस्रो अध्यक्ष बन्ने मेरो रुची छैन ।’
बैठकमा सहभागी एमाले नेताका अनुसार पार्टीको एकल नेतृत्व गर्नुपर्ने अवस्था आएमा माधव नेपाल त्यसका लागि तयार छन् । त्यस्तै, महाधिवेशन जितेर अध्यक्ष बन्न पनि उनी तयार देखिएका छन् । तर, अन्तरिम कालमा ओलीसँग दोस्रो अध्यक्ष नबन्ने उनको अडान छ । तैपनि पार्टी एकतावद्ध हुन्छ भने आफ्नो समूहबाट अरु कसैलाई ओलीसँगै अध्यक्ष बनाएर महाधिवेशनसम्म जान सकिने नेता नेपालको स्वीकारोक्ति रहेको नेताहरु बताउँछन् ।
दुईजना अध्यक्ष मात्रै होइन, ओली, झलनाथ र वामदेव गौतमको सचिवालय बनाएर महाधिवेशनमा जानसमेत सकिनेबारे माधव समूहको स्थायी कमिटी बैठकमा छलफल चलेको स्रोतले बतायो ।नेकपा एमालेमा विवाद समाधानका लागि ओलीसँगै माधव नेपाललाई पनि दोस्रो अध्यक्ष बनाउन सकिने ओली पक्षले नै प्रस्ताव राख्दै आएको छ । अध्यक्ष ओलीले यसमा आफू सकारात्मक रहेको बताइसकेका छन् । महाधिवेशन अघिसम्म दुई अध्यक्ष बनाएर सहमति गर्ने ओली पक्षको प्रस्तावमा सबैको सहमति रहेमा आफ्नो सहयोग रहने बताउँदै नेता नेपालले दोस्रो पुस्ताका नेताहरुलाई अध्यक्ष बन्न आग्रह गरेका छन् ।
तर, ओली पक्षले माधव नेपाल बाहेक अन्य नेतालाई दोस्रो अध्यक्ष बनाउन सहमति जनाउँछ या जनाउँदैन भन्ने स्पष्ट हुन बाँकी छ ।
यसैबीच, देउवा नेतृत्वको सरकारमा सहभागी नहुनेबारे माधव समूहको स्थायी कमिटी बैठकमा सबै नेताहरु एकमत देखिएको स्रोतले बतायो । रातोपाटीबाट साभार