पोखरा । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । तर त्यससता पार्टी कमिटीहरु गठन–पुनर्गठनको कामले प्राथमिकता पाउन नसकेको नेताहरु बताउँछन् ।माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको हो ।
स्थायी कमिटीको बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण
अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताए ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।