आर्थिक अभावका कारण पछिल्लो समयमा पाँचवटा चिनी उद्योग बन्द भएका छन् । त्यसमध्ये तीन वटा उद्योग गत आर्थिक वर्ष बन्द भएका हुन् ।
संघका अनुसार रौटहतमा रहेको श्रीराम सुगर मिल्स, सर्लाहीमा रहेका अन्नपूर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज र इन्दु शंकर चिनी उद्योग, नवलपरासीमा रहेको लुम्बिनी सुगर इन्डष्ट्रिज प्रालि बन्द भएका हुन् ।
उत्पादन सुरु भएको एक वर्ष नबित्दै सिराहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी उद्योग उखु अभावका कारण २०७४ मा बन्द भएको थियो । चिनी उद्योग सुरु भएको ३० वर्ष अवधिमा २१ वटा उद्योग बन्द भइसकेका छन् । ३१ उद्योग सञ्चालन भएकोमा विभिन्न समयमा गरी हालसम्म २१ उद्योग बन्द भएका हुन् ।
सरकारी स्वामित्वमा रहेको विरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखाना सञ्चालनमा आउन नसकी लामो समयदेखि बन्द छन् । संघका अध्यक्ष शशीकान्त अग्रवालले चिनी उद्योग सञ्चालन गर्न समस्या भएको बताए । कम्पनीलाई सहकारीकरण गरेर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।
किसान, स्थानीय तथा कर्मचारीलाई समेटेर सहकारीमा रुपान्तरण गर्न सके सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ। ‘सहकारीकरण गरियो भने सबैको भलो हुन्छ’ उनले भने, ‘कम्पनीबाट सञ्चालन गर्न समस्या भयो ।’ (अन्नपूर्ण पोस्ट)