नेकपा एमालेले आज बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेपछि पार्टी एकतालाई मूर्त रुप दिन दोस्रो वरियताका नेताहरुले सक्रियता देखाएका छन् । आज बोलाइएको बैठक अन्तिम डेटलाइनका रुपमा घोषणा भएसँगै माधव नेपाल पक्षका दोस्रो वरियताका नेताहरुले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
नेपालले नै बैठक स्थगित गर्न भीम रावलमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिएपछि बैठक स्थगित भएको स्रोतले बताको छ । बैठक स्थगित भएपछि एमाले कार्यदलका सदस्यहरु भने आन्तरिक छलफलमा जुटेका छन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले माधव समुहका नेताहरुसँग छलफल समेत जारी रहेको बताए । ‘अनौपचारिक रुपमा नेताहरुबीच वार्ताहरु भइरहेका छन् । उहाँहरु अव भोलीको बैठकमा आउनुको विकल्प छैन ।
अब भोली नआउनेहरु छुट्छन्’, तामाङको भनाइ छ । यसैबीच आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ । ‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ’, कार्यदलका एक नेताले भने, ‘आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने छ ।’