Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कर्मचारीको वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने

कर्मचारीको वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • १९:२४:०५ बजे
  • 460
    SHARES
  • कर्मचारीको वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने

    सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    images

    बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो । यसैगरी बैठकले नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही साउन २४ को सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा (चौथो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।

    सरकारले माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । यस्तै नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ ।

    सोही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एकपटक दिइने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नयाँ तलबमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology