बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केसीले बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । त्यस्तै स्वतन्त्र राजनीतिक समूहका अजय शाही पनि मन्त्री बन्ने स्रोतले बताएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन् ।
स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।
यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् ।