पोखरा । आगामी असोज ८ गतेदेखि १० गतेसम्म नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले साउन २९ गते बसेको संगठनको केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्दै २२ औं राष्ट्रिय सम्मेलन असोजमा गर्ने जानकारी दिएका हुन् ।
शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पषमा २२ औं राष्ट्रिय सम्मेलन भन्ने नारा समेत तय गरिएको तामाङले बताए । सम्मेलनका लागि भदौ १५ गतेभित्र इकाई, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ ।
त्यस्तै, भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने उनले बताए । बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराइएकाले पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उपकुलपतिलाई तत्काल बर्खास्त गर्न माग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । उनले सीटीईभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्न र छात्रवृत्तिलाई थप ब्यवस्थित र पारदर्शी बनाउन माग गरिएको जानकारी दिए ।
विभिन्न इन्जिनियरिङ क्याम्पसहरूमा शुल्कबृद्धिको विरुद्धमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै कोरोनाको समयमा असुल गरिएको शुल्क घटाउन र अहिले बढाइएको शुल्क तत्काल फिर्ता गर्न संगठनले माग गरेको छ ।
त्यस्तै विदेशी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरेका शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरी विद्यार्थीमाथि लुट मच्याईरहे भन्दै त्यस्ता कलेजमाथि कडा अनुगमन गरी कारवाही गर्न र अवैधानिक रुपमा खोलिएका शिक्षण संस्था तत्काल बन्द गर्न माग गरिएको छ ।