पोखरा । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान पारित गरेको छ। शनिवार देखि शुरु भएको बैठकका निर्णयहरुबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिए।
पारित प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभार रहेको उनले बताए। प्रतिगमनको खतरा नटरेको भन्दै उनले संसद्लाई पूर्ण कार्यकाल सञ्चालनका लागि अपिल गरिएको बताए।
बैठकबाट विधान संसोधन पारित भएको जानकारी दिँदै उनले जनआधारित पार्टीका रुपमा अगाडि बढाइने बताए। पार्टीमा ३५ प्रतिशत महिला, १५ दलित, २० प्रतिशत युवा कमिटीमा राखिने निर्णय भएको समेत उनले बताए।
बैठकमार्फत जयसिंह महराको निधनबारे ध्यानाकर्षण गराइएको प्रवक्ता श्रेष्ठले बताए। एसएसबीको कारण उनको निधन भएको पार्टीको निष्कर्ष रहेको उनले जानकारी दिए। यसबारे पार्टीले विरोध प्रकट गर्दै छानबिन टोलीको प्रतिवेदनको कुटनीतिक पहल गरेर दोषीलाई कारबाही गर्न सरकारलाई अपिल गर्ने निर्णय समेत भएको उनले बताए।
बैठकमा बाढी पहिरोका कारण मानवीय र विकासमा क्षति पुगेकाले मृतक प्रति समवेदना र विकास निर्माणलाई अगाडि बढाउन माग गरिएको उनले बताए। त्यस्तै, अफगानिस्तानमा संवेदनशिल अवस्था देखा परेकाले नेपालीको जानकारी लिन र जीवन रक्षा गरोस भन्ने माग गरिएको उनले जानकारी दिए।
समूहगत छलफलले दिएको सुझावका आधारमा प्रतिवेदन पारित भएको प्रवक्ता श्रेष्ठले बताए। प्रचण्डले ऐतिहासिक बैठक भएको संलेशण गरेको उनले बताए।
‘विधान लागू प्रक्रिया स्थानीय तह हुँदै केन्द्रीय सम्मेलन हुँदा लागू हुन्छ। सरकार विस्तार अब चाँडै हुन्छ। सरकार विस्तार ढिला हुनुहुँदैन थियो। एमसीसीका बारेमा पार्टीले नीति प्रष्ट पारेकै छ। संशोधन गरेर पारित हुनुपर्छ भन्ने छ अरु गठबन्धनका दलसँग छलफल हुन्छ,’ उनले भने।