नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोमा त्यसलाई चिरेर आफूहरुले नयाँ पार्टी गठन गरेको बताएका छन् । पत्रकारहरुसँग मंगलबार कुरा गर्दै केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको प्रस्ट पारे । उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए ।
जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको उनको आरोप छ । पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए । इतिहासमा पनि यस प्रकारको विद्रोह बारम्बार देखिएको उदाहरण दिँदै उनले भने, ‘दोस्रो महाधिवेशनमा केशरजङ्ग हुँदा हुँदै रुपान्तरण सम्भव थिएन र पुष्पलालले विद्रोह गर्नुभयो, यस्तो विद्रोह अनेक पटक भएका छन् ।
ओलीले आफ्नो पद धरापमा पर्छ भन्ने बुझिसकेपछि संसद विघटन गरेको उनको आरोप थियो । ‘एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेको इतिहास कायम भएको छ,’ उनले भने, ‘त्यसपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र विद्रोहको आवाज उठायौं ।’ केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ भन्ने निष्कर्षमा पुगेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका दलसँग सहकार्य गरेर आफूहरुले संसद, लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए ।
समयक्रममा एकता गर्दै आएको उल्लेख गर्दै नेपालले भने, ‘यो क्रम चलिरहन्छ । केपी ओलीको समूहमा पनि विचार, धारणा परिवर्तन भएछ भने ढोका खुला हुनेछ ।’ तर पार्टी गठन गर्न नदिइ आफूहरुलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको भन्दै उनले यो षडयन्त्रलाई चिर्ने दाबी गरे । एमालेबाट आफूसहित १४ सांसदलाई निष्काशन गरेपछि आफूहरुसामु नयाँ दल गठन गर्नुको अर्को विकल्प नरहेको पनि उनले बताए ।