एजेन्सी । पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशबासीलाई सम्बोधन गर्दै आफ्नो देशको नयाँ नक्सा जारी गरेका हुन् । नक्सामा जम्मु-कास्मिर क्षेत्रलाई पनि समावेश गरिएको छ ।
नक्सामा जम्मु-कास्मिरलाई विवादित भूमि भनेर उल्लेख गरिएको पाकिस्तानी सञ्चारमाध्यम 'द डन'ले जनाएको छ । नक्सामा भारतको गुजरातमा पर्ने जुनागढलाई पनि समावेश गरिएको छ । भारतले जम्मु-कास्मिर क्षेत्रको स्वायत्तता खोसेको एकवर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो ।
पाकिस्तानका सरकारी कार्यालय, विद्यालय, अन्तर्राष्ट्रिय क्षेत्र र कूटनीतिक नियोगहरुमा नयाँ नक्सा प्रयोग गर्न हिजो नै मन्त्रिपरिषद्ले विशेष निर्णय पनि गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भारतले भने नयाँ नक्सालाई तथाकथित र हास्यास्पद भएको टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले 'आधारबिनाका दावी गरिएको राजनीतिक मूर्खता' भनेर टिप्पणी गरेको छ ।