पोखरा । नव गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताएका हुन ।
सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘अब पाँच दलीय गठबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’
यसै गरी नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’