पोखरा । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा विभिन्न माग राख्दै अनशन सुरु गरेका संस्थापनइतरका जिल्ला सभापतिहरुको जारी अनशन आज तोडिने भएको छ । आफुहरुले राखेका मागहरु आंशिक पूरा भइसकेको भन्दै आज अनशन तोड्न उनीहरु तयार भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरु क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने र महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने लगायतका माग राखेर चार दिनदेखि धर्ना र अनशनमा थिए ।
यसै विषयमा आज बिहान पौडेल समूहको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास, चाक्सीबारीमा बसेको थियो । बैठकमा आन्दोलनरत जिल्ला सभापतिहरु पनि सहभागी भएको जनाइएको छ ।
जिल्ला सभापतिहरूले गत बुधबारदेखि सानेपामा रिले अनसन सुरु गरेका थिए । उनीहरुको मागमा पौडेल पक्षले ऐक्यवद्धता जनाएको थियो । जिल्ला सभापतिहरुको माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैगरी, चाक्सीबारीको आजको बैठकले आफूहरुले उठाएका मागहरु सम्बोधन गर्न सभापति शेरबहादुर देउवा सकारात्मक भएको भन्दै अब महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । समयमै महाधिवेशन गर्नुपर्ने बाध्यताप्रति आफूहरु सचेत रहेको भन्दै यस समूहले महाधिवेशन तयारीमा लाग्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए ।