प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेकै बेला देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा आज छलफल भएको छ ।
हिजो पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो । करिब डेढ घण्टा भएको छलफलमा मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिने सहमति भएको थियो । सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे उनीहरूबीच छलफल भएको थियो । आज यसबारे सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको छ ।
एकीकृत समाजावादीका अध्यक्ष नेपालले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताइसकेका छन् । आफ्नो पार्टी भोलि सरकारमा जाने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीको भनाई छ ।