Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा विवाद

नेकपा आन्तरिक विवाद जटिलतातर्फ उन्मखु हुँदै

नेकपा आन्तरिक विवाद जटिलतातर्फ उन्मखु हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • ०८:३५:४१ बजे
  • 1.6K
    SHARES
  • नेकपा आन्तरिक विवाद जटिलतातर्फ उन्मखु हुँदै
    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद जटिलतातर्फ उन्मखु बन्दै गएका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलसमेत स्थगित भएको छ । आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्रीसमेत रहेका ओलीले समय अभाव भन्दै स्थगित गरेपछि मतभेद थप बढेको छ । दुई अध्यक्ष ओली र दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङबीच विवाद टुंग्याउन तीन दिनदेखि लगातार छलफल भए पनि कुनै टुंगोमा पुगेको छैन ।

    एकता प्रक्रियादेखि अहिलेसम्म आइपुग्दा ओली–दाहालबीच सरकार सञ्चालन र पार्टी सञ्चालनकै विषयमा उत्पन्न विवादमा कुरा मिल्न सकेको छैन । बुधबार साँझ सबै प्रक्रिया टुंग्याउने र बैठक सञ्चालन गर्ने भनिए पनि ओलीले छलफल नै स्थगित गरेपछि सचिवालय बैठक र स्थायी कमिटी बैठक अन्योलमा परेको छ । ओली स्थायी कमिटी र केन्द्रीय कमिटीबाट नभई सचिवालय बैठकबाट निर्णय लिनुपर्ने अडानमा छन् । त्यसका लागि अर्का अध्यक्ष दाहालसहितका नेताहरू तयार नभए बैठकमै सहभागी नहुने धम्की ओलीले दिँदै आएका छन् । विवाद बढ्दै जाँदा ओलीले मंगलबार कोरोनालगायत विषयमा विज्ञसहित प्रमुख राजनीतिक दलका नेतासँग गरेको बैठकमा दाहाल अनुपस्थित भएका थिए ।

    दाहाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नुपर्ने, पार्टी र सरकार विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने माग उठाउँदै आएको छ । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि कुरा मिल्न सकेको छैन । नेकपाभित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार सञ्चालन गर्ने भन्ने प्रश्न गहिरिँदै गएको छ । अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत पार्टीले सरकार सञ्चालन गर्नुपर्ने अडानमा छन् ।

    उनीहरूले राखेको अडानमा पार्टी स्थायी कमिटीका बहुमत सदस्यसमेत सहमत छन् । राजधानीमा बुधबार पत्रकारसँगको भेटमा चार शीर्ष नेताहरू दाहाल नेपाल, खनाल र श्रेष्ठको एउटै स्वर थियो, ‘हामीले पदको लडाइँ गरेको होइन, पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ, पदलाई महत्व दिइएको छैन, प्रवृत्तिविरुद्ध संघर्ष हो ।’ मूलतः पार्टीभित्र आफूहरूलाई पदको लडाइँ हो भन्ने देखाइएको र त्यसले पार्टीको विधान विधिलाई मिच्ने काम भएको उनीहरूको भनाइ थियो ।

    अध्यक्षले नै पार्टी निर्णय नमाने एकता बच्न धौधौ हुने दाहालको भनाइ थियो । दाहालका अनुसार पार्टी एकता कमजोर बनाउन नै स्थायी कमिटी बैठक चलिरहँदा अर्का अध्यक्ष ओलीले नेकपा एमाले दर्ता गराउने पहल गरेको पनि उनको दाबी थियो । उनले पार्टी एकतालाई जोगाउने कुरा गर्दै राम्रो परिस्थिति निर्माण गर्न आफू लागिपरेको समेत बताए । ‘राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लागिरहेका छौं तर हामी कम्युनिस्ट खराबभन्दा खराब परिस्थितिका लागि पनि तयारचाहिँ हुनुपर्छ,’ उनले भने । पार्टीभित्र राम्रो अवस्था आओस् भनेर नै आफूले पाँच वर्षसम्म ओलीलाई प्रधानमन्त्री दिन राजी भएको र त्यसका लागि कार्यकारी अध्यक्षका लागि आफू तयार भएको पनि दाहालले बताए । ‘मैले एउटा केन्द्रीय कमिटी बैठक, दुईवटा स्थायी कमिटी बैठक र दुईवटा सचिवालय बैठकको अध्यक्षता गरें, त्यतिबेला सबै साथीले आफूलाई चित्त बुझाउनू भने, बैठकबाट निस्कँदा उहाँ (ओली) हाँसीखुसी हुनुभयो, त्यसपछि चाहिँ उहाँले तुरुन्तै आफू निकटलाई बोलाएर ‘पोलिसी सिफ्ट’ गर्नुभयो, जसले गर्दा बैठक नै बस्न सक्ने अवस्थामा पुगेन,’ दाहालले भने, ‘पछिल्लो पटक मैले ओलीजीसँग पटकपटक उठाएको विषय पनि यही हो कि किन पोलिसी सिफ्ट गर्नुभयो, जसले गर्दा बैठक बस्न सकिरहेको छैन ?’ दाहालका अनुसार ओलीले नै पार्टीको छुट्टै भेला गरेर अराजकतातिर धकेलेका हुन् ।

    वरिष्ठ नेता खनाल र नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त र पम्फा भुसाललाई अगाडि राखेर दाहालले करिब ४० मिनेटमा पार्टी एकता नगर्दैदेखि केही तत्वले भाँड्न लागेको र अहिले पनि विभाजन गराउन लागिपरेको बताए । पत्रकारसँगको भेटमा नेता नेपालले ओलीले विधानअनुसार पार्टी सञ्चालन नगरेको आरोप लगाए ।

    ‘पार्टी विधिबाट सञ्चालन गर्नुपर्छ भन्ने उहाँ (ओली) मा कुनै सोच देखिएन, विधिलाई कागज मात्रै देख्नुभयो,’ नेपालले भने, ‘जनसंगठन, निकाय, विभागलाई पूर्णता दिन र एकताको कार्यभार पूरा गर्न नसकेको अवस्था छ, आफूखुसी, मनपरी ढंगले, अयोग्य र आफ्नो गुटका मानिसलाई गोजीबाट फुत्त निकालेर नियुक्ति दिएको देखिन्छ, पार्टीभित्र योग्यको अभाव भएको देखाउन खोजिएको छ ।’ उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरेको, भ्रष्ट र आसेपासेको संरक्षण गरेको, आफूसँग असहमत हुनेलाई शत्रुतापूर्ण व्यवहार गरेको आरोप पनि लगाए  । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology