Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दोस्रो पटक प्रतिनिधिसभाको बैठक स्थगित,राष्ट्रियसभा बैठक पनि अवरुद्ध

दोस्रो पटक प्रतिनिधिसभाको बैठक स्थगित,राष्ट्रियसभा बैठक पनि अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १७:३६:२६ बजे
  • 1.1K
    SHARES
  • दोस्रो पटक प्रतिनिधिसभाको बैठक  स्थगित,राष्ट्रियसभा बैठक पनि अवरुद्ध

    प्रतिनिधिसभाको बैठक बुधबार दोस्रो पटक स्थगित भएको छ । पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

    images

    त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    सभामुख एमालेसँगको वार्तामा :

    सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ। संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।

    संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको हो । एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो ।

    लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् । नियमावलीविपरीत संसदमै एमालेको नारा : सभामुख मुर्दावाद ! नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् ।

    बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन । सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए । सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए ।

    त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । संसदीय नियमावली अनुसार ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नुहने’ व्यवस्था छ ।

    सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ ?

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ माग्दै नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए ।

    त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।

    के छ संविधानको धारा १०५ मा ?

    संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बहस गर्न बन्देज गरेको छ ।

    प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलफल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ । 

     राष्ट्रियसभा बैठक पनि अवरुद्ध : 

    राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ । एमालेले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको थियो

    बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

    त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए ।

    उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राखे । 


    सचेतक भट्टराइले बोलिसक्ने वित्तिकै एमाले संसदहरूले उठेर संसद बैठक सूचारु हुन दिएनन् ।

    यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढिनुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे ।

     एमाले सांसदहरुले नमानेपछि उनले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गरे । 

     

    संघीय संसदको नवौँ अधिवेशन बुधबार अपरान्ह ठीक चार बजे सुरु

     संघीय संसदको नवौँ अधिवेशन बुधबार अपरान्ह ठीक चार बजे सुरु भयो । राष्ट्रिय गान बजिसकेपछि सभामुखले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउन थाले । पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरु उठेर टेवुल ठोक्न थाले । टेवुल ठोक्न थालेलगत्तै सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने अनुमति दिए ।

    भट्टराईले सभामुखको कमजोरी औँल्याउँदै बैठक चल्न नदिने बताएर बस्न नभ्याउँदै सभामुखले आत्तिएर लिखित पत्र पढ्न थाले । उनले पत्रमा आफुले किन एमालेका १४ सांसदलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भनेर बताउन नभ्याउदै एमाले सांसद उठेर रोष्टमतर्फ अघि बढे ।

    रोष्टम नजिक पुगेर नारावाजी गरेपछि सभामुख थप हतास र आत्तिएको देखिन्थे । प्रचलित कानुनअनुसार आफूले निर्णय लिएको सभामुखले बताइरहँदा एमालेका सांसद रोष्टमतर्फ अघि बढे । त्यसपछि सभामुख सापकोटा आत्तिएको देखिन्थ्यो । आत्तिँदै सभामुख सापकोटाले भने, ‘नियमको २१ खण्ड ‘ख र ग’ ध्यानाकर्षण गर्छु ।’

    सभामुखले नियमप्रति ध्यानाकर्षण गराएपनि एमालेको सांसदहरुको नाराबाजी रोकिएन । त्यसपछि डराएको भावमा सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, देशमा संविधान छ, कानुन छ, ऐन छ । मर्यादा बाहिर नजानु होला । संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानु होला । फेरि पनि म भन्छु, प्रतिनिधि सभा नियमावली २०७५ को ‘ख र ग’ तपाइँहरुलाई गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’

    सभामुखको बारम्बारको चेतावनीपछि पनि एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।

    यो समाचार रातोपाटी लगायतका समाचार पोर्टल बाट संकलन गरिएको हो ।

     

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology