प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो । त्यस्तो अन्य केही छैन ।’ विहान ९ बजेबाट गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्दै छ ।
"आजै सत्ता गठबन्धनको बैठक बस्दै"
मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको छ ।
शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसीका सन्दर्भमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो |
मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।
यता संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएको अवस्था छ । काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षी देखिएका छन् ।
साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा यी विषयको निकासका सन्दर्भमा छलफल हुने एक नेताले बताए |